
धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा १८ महिला र ५५ पुरुषसहित ७३ जनाले रक्तदान गरेका छन्। लायन्स क्लब अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना प्रमुख अतिथि रहेका थिए।
सो अवसरमा लायन्स ३२५ आई का ५ नम्बर चियर्स पर्सन कृष्ण बद्री पौडेल, नेपाल नगरपालिका संघका सल्लाहाकार सरोज अधिकारी, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, १२ नम्बर जोन चियर्स पर्सन कृष्ण प्र ढकाल (शिशिर), लायन्स क्लब सुर्यमुखीका अध्यक्ष विक्रम बिक, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख जितेन्द्र कुमार शाह, आयुर्वेद तथा चिकित्सालय धादिङका कार्यालय प्रमुख डा.अमुल्य दाहाल लगायत विशिष्ट व्यक्तिहरूको आतिथ्य रहेको थियो ।
आयोजकका अनुसार कार्यक्रमले समाजमा रक्तदानप्रतिको जनचेतना अभिवृद्धि गर्न र रगत अभाव न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसअघि क्लबले वृक्षारोपण, विद्यालय पोशाक वितरण र छात्रावासमा शौचालय निर्माणजस्ता सामाजिक कार्य गरिसकेको छ।